इलाम । इलामको रोङ गाउँपालिकाले बालबालिकाका लागि दैनिक दैनिक १ बचत गराउने भएको छ । गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा विद्यार्थी बचत खाता सञ्चालनमा ल्याउने भएको हो । यो कार्यक्रमको लागि गाउँपालिकाले ‘अध्यक्षसँग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यक्रमको कार्यबिधी–२०८०’ बनाएको छ ।
कक्षा नर्सरीदेखी कक्षा १२ सम्मका विद्यार्थी लाभान्वित हुने यो कार्यक्रममा विद्यार्थी र अभिभावकले भने न्यूनतम १ भन्दा बढी जति पनि दैनिक बचत गर्न पाउने व्यवस्था छ । अभिभावकले आफ्ना छोराछोरीको लागि बचत गरिदिन सक्नेछन् ।
विद्यार्थीको सो बचतमा गाउँपालिकाले १ का दर हरेक २ महिनाको एकमुष्ट रकम विद्यार्थीको खातामा जम्मा गरिदिने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो ‘सुबास’ ले बताए । कार्यक्रम दिपावली लगत्तै सुरुवात हुनेछ ।
बचत संकलनको लागि बालबालिका पढ्ने सम्बन्धित विद्यालय व्यवस्थापक रहनेछ।बचतका लागि विद्यार्थीलाई पासबुक र मोबाइल एप समेत प्रमाणका लागि व्यवस्था गराईनेछ । बचतको प्रमाण बालबालिकाका अभिभावकले समेत मोबाइल एपबाट थाहा पाउनेछन् ।
कार्यक्रममको दीर्घकालिन लक्ष्य भने उद्यमशीलतासँग विद्यार्थी जोड्ने जनाईएको छ । बालबालिकालाई सानै उमेरदेखी नै बचत गर्न सिकाउनु, बालबालिकामा वित्तीय साक्षरता अवधारणा विकास गर्नु, अनावश्यक खर्च कटौती, विद्यार्थीको उच्च शिक्षामा आर्थिक भार कम गर्नु र स्थानीय सरकारले शिक्षामा गरेको लगानीमा विद्यार्थी सहभागी हुनु कार्यक्रमका विशेषता रहने उल्लेख छ ।
रोङ गाउँपालिकाले यस अघि पालिकाभित्र पाइने गुन्द्रुक र सिस्नु लाई ब्राण्ड बनाउने घोषणा गरेको छ । सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि गाउँपालिकाले अभिभावक शिक्षाका लागि सहजकर्ता छनोट गरी कार्यान्वनमा ल्याएको छ ।
गाउँपालिकाले गाउँपालिका भित्र रहेको सामुदायिक वनहरुलाइ व्यवस्थित गर्ने कार्ययोजना ल्याएको छ । रोङमै रहेको प्रसिद्ध धार्मिक स्थल सो पाथिभरामा भएको अनियमितालाई सुधार गरी थप चर्चा पाएको छ ।