आफ्ना कार्यकर्तामाथि ढुंगा हानिएपछि महेशको चतावनीः हामी बल्खु जान नपरोस्



काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले तीनकुनेको प्रदर्शनस्थलमा भेला भएका युवाहरु बल्खुमा उतार्ने
चेतावनी दिएका छन् ।

बिहीबार प्रदर्शनका क्रममा बल्खु क्षेत्रमा दुर्गा प्रसाईंका समर्थकले युवा संघका कार्यकर्तामाथि ढुंगामुढा गरेपछि नेता बस्नेतले प्रहरीले सुरक्षा दिन नसके तीन कुनेमा भेला भएका युवाहरु लिएर बल्खु जाने चेतावनी दिएका हुन् ।


‘हाम्रो लक्ष्य झडप गर्ने होइन । बल्खुमा ५०० युवा आउँदै गर्दा अवरोध भएको कुरा छ । प्रहरी प्रशासनलाई आग्रह गर्छु । अन्यथा, यहाँ भएका युवाहरू बल्खु जान नपरोस्,’ उनले भने ।

बल्खुबाट मोटरसाइकल र्यालीमार्फत तीनकुने प्रदर्शनस्थल आउँदै गरेका युवा संघका ५ सय कार्यकर्तालाई प्रसाईंका कार्यकर्ताले अवरोध गरेका थिए ।

ढुंगामुढाबाट २ जना घाइते भएका छन् भने बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ । साथै केही बाइक र गाडीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले त्यहाँको स्थिति नियन्त्रणमा लिइसकेको छ ।