काठमाडौं । आज (बुधबार) संघीय संसदका पाँच समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाका तीन, राष्ट्रिय सभाको एक र संयुक्त समितिको एक गरी पाँच समितिको बैठक बस्ने लागेको हो ।
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न लागेको छ । बैठक बिहान ११ बजेको लागि बोलाइएको छ ।
यस्तै, प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र संसदीय सुनुवाइ समितिको पनि बैठक आजै बस्दै छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४ औं बैठक बिहान ११ः३० बजे बोलाइएको छ । बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने विषयमा छलफल गर्ने कार्यसूची छ ।
यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आज बस्दै छ । ११ बजे बस्ने बैठकले विभिन्न स्थानका बाल सुधार गृहहरूको अनुगमन सम्बन्धमा समितिले गरेको अध्ययन र मंगलबारको छलफललाई निरन्तरता दिने बताइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११:०० बजेका लागि बोलाइएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकले निर्वाचन आयोगका कामकारबाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।