काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । आइसीसीले एक विज्ञप्ति जारी गर्दै तुरुन्तैदेखि लागु हुने गरि श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको जानकारी दिएको छ ।
श्रीलंकाको क्रिकेट बोर्डलाई सरकारले नियन्त्रण गर्न खोजेपछि आइसीसीले हस्तक्षेप गरेको हो । यसै साता सरकारले क्रिकेट बोर्डलाई निलम्बन गर्ने घोषणा गरेपछि अदालतले निलम्बन फुकाईदिएको थियो ।
आइसीसीले श्रीलंका क्रिकेट बोर्ड बारे थप निर्णय यहि नोभेम्बर २१ मा बस्ने बोर्ड बैठकले गर्ने जनाएको छ ।
आइसीसीको निलम्बनमा परेसँगै आगामी जनवरी र फेब्रुअरीमा श्रीलंकाले आयोजना गर्ने यू-१९ क्रिकेट विश्वकपको आयोजना बारे अन्योलता बढेको छ ।
जारी क्रिकेट विश्वकपमा श्रीलंकाको प्रदर्शन पनि बिर्सन लायक भएको छ । ९ खेलमा ७ खेल हारेको श्रीलंका अंक तालिकामा नवौं स्थानमा रहेको छ ।