अस्थायी आवास निर्माणका लागि ५ जिल्लामा पहिलो किस्ताको रकम निकासा



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता निकासा गरेको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम सोमबार निकासा गरेको हो ।

पहिलो किस्ताअनुसार जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड रुपैयाँ र बझाङका लागि २५ करोड निकासा गरिएको छ भने बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको छ । प्राधिकरणले पहिलो किस्ता रकम निकासाबारे गृह मन्त्रालयलाई बोधार्थ पठाएको छ ।


भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदानस्वरुप प्रति घरधूरी ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता निकासा गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए ।

निकासा गरिएको रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र भइसकेको छ भने भूकम्पपीडितले स्थानीय तहमा गएर निवेदन दिएलगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने प्रबन्ध गरिएको छ ।

400453533_1388584132013614_4541716868917482944_n