काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै मन्त्री महतले अहिले रेमिटेन्स वृद्धि भएको र पर्यटन व्यवसायमा उत्साह छाएको भन्दै अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताएका हुन् ।
अर्थतन्त्रका नकारात्मक बिषयमा सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको उनले बताए । उनले अहिलेको अवस्थामा निराश हुनुपर्ने अवस्था नरहेको र आत्मविश्वास जगाउनुपर्ने आवश्यकता रहेको जिकिर गरे । मन्त्री महतले विश्व बैंक, एडिबीसँग जलवायु परिवर्तनको सन्दर्भमा न्यून ब्याजमा ऋण र अनुदानका विषयमा छलफल भएको भएको जानकारी दिए ।
त्यस्तै उनले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताए । नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए ।