सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश, ४४ अर्ब ८५ करोड बढी रकम सङ्कलन



काठमाडौं । सामाजिक सुरक्षा कोषले ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ । स्थापनाको छैटौं वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सोबारे जानकारी गराइएको हो ।

कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेका छन् भने १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ ।


वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना श्रमिक कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने व्यवस्था गरिएको थियो ।

सोही आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको आबद्धता बढेको कोषले जनाएको छ । वैदेशिक रोजगारमा रहेर कोषमा योगदान गर्दै आएका तीन जनाको मृत्यु भइसकेको छ ।