धादिङबेसी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा कांग्रेस पार्टी आन्तरिक झगडामा रुमल्लिनु दुखःद भएको बताएका छन ।
विपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरी नेपालको राजनीति घुमेको प्रशङ्ग स्मरण गर्दै कोइरालाले नेताहरुकै कमीकमजोरीका कारण कांग्रेसको छवि दिनदिनै गिर्दै गएको बताए ।
‘राष्ट्रिय राजनीतिको मियो बन्न सरकारको नेतृत्व नै गर्नपर्छ भन्ने छैन’ कोइरालाले भने ‘विपी कोइराला जेलमा हुनुहुन्थ्यो पार्टी प्रतिबन्धित थियो तर त्यतीबेला पनि नेपाली कांग्रेस राजनीतिको मियो थियो । मेरो लक्ष्य कांग्रेसलाई फेरि त्यस्तै पार्टी बनाउने हो ।’
अन्तर्राष्ट्रिय स्तरमै कांग्रेसको छवि गिर्दै जानु राम्रो संकेत नभएको भन्दै उनले अब केवल गुटबन्दी र आत्मरतिमा रमाएर बस्न नहुने बताए । नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनलाई धादिङबेसीमा सम्बोधन गर्दै कोइरालाले अब हुने कुनैपनि निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गरे ।