महाकवि देवकोटाकाे ११५औँ जन्मजयन्ती मनाइँदै



काठमाडौँ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कालजयी कृतिमार्फत नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।

विक्रम संवत १९६६ साल कात्तिक औँसीका दिन बुबा तिलमाधव देवकोटा र आमा अमरराज्य लक्ष्मीको साहिँलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए ।


देवकोटाका मुनामदन खण्डकाव्य, शाकुन्तल र प्रमिथस महाकाव्य, लक्ष्मी निबन्ध संग्रह, भिखारी कविता सङ्ग्रहलगायत निकै चर्चित कृति हुन् । 

देवकोटा २०१५ सालमा पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री समेत भएका थिए । देवकोटा जन्मिएको मैतिदेवीको घरलाई सरकारले सङ्ग्रहालयको रुपमा पुनर्निर्माण गरेको छ ।

देवकोटाको २०१६ भाद्र २९ गने काठमाडौँको पशुपति आर्यघाटमा निधन भएको थियो ।