भेरी अस्पतालमा ३८ घाइते भूकम्प पीडितको उपचार हुँदै, सबै खतरामुक्त



नेपालगन्ज । जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ ।

गए राति एम्बुलेन्सबाट थप छ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा ल्याइएसँगै बिरामीहरुको सङ्ख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । तीमध्ये दुई जना जाजरकोट भेरी नगरपालिका हुन् भने चार जना सानोभेरी रुकुमका हुन् ।


घाइतेहरूमध्ये ३७ जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको र एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । यसअघि शनिबार एक जना बिरामीको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

भूकम्पमा गम्भीर घाइते भएका पाँच जनाको शल्यक्रिया सफल भएको जानकारी दिँदै प्रजिअ पोखरेलले सबै बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको जानकारी दिए । मृतको शव आज जाजरकोट पठाइएको छ ।

अस्पतालमा बिरामी जाजरकोटका २४, रुकुम पश्चिमका १३ र सल्यानका एक रहेका छन् । कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि भेरी अस्पताल बाँकेमा सार्ने तयारी भइरहेको बताइएको छ ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा जनधनको क्षति भएको थियो ।