बोरामा मृत भेटिएका दुई जनाको पहिचान हुन सकेन



काठमाडौं । हातखुट्टा बाँधेको अवस्थामा बोरामा मृत भेटिएका दुई जनाको चार दिनसम्म पहिचान हुन सकेको छैन ।

चितवनको भरतपुर महानगरपालिका-१२, मिलनचोकमा मंसीर ६ गते दुई व्यक्तिको शव भेटिएको थियो । मिलनचोकस्थित पूर्व(पश्चिम लोकमार्ग सडकखण्डको कल्भर्टमुनि शंकास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए ।


डीएसपी पण्डितका अनुसार देशका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा हुलिया सहित परिपत्र गरिएको छ । त्यस्तै, सीमावर्ती भारतीय प्रहरी एकाइहरूलाई पनि परिपत्र गरिएको उनले बताए ।

सबैतिर परिपत्र गर्दा पनि अहिलेसम्म सनाखत हुन नसकेको उनले बताए । दुवै जना कल्भर्टमुनि बोरामा हातखुट्टा बाँधिएको अवस्थामा मृत भेटिएका थिए । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यसबारे प्रहरीले सामाजिक सञ्जालमा पनि जानकारी राखेको छ । मृतक दुवै जनालाई पहिचान गर्न सकिने सामग्री पनि सामाजिक सञ्जालमा राखेको छ ।