‘बुकी कप’ भलिबल प्रतियोगिता पुसमा



गण्डकी । राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आगामी पुस आठदेखि १५ गतेसम्म बागलुङको गलकोटमा आयोजना हुने भएको छ । पोखराको हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्द्वारा आयोजित प्रतियोगितामा तीन विभागीयसहित छ टिमको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगिताका संयोजक मोहन केसीका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र गलकोट नगरपालिकाको टिमले प्रतियोगितामा भाग लिनेछन् । पहिलोपटक आयोजित प्रतियोगितामा प्रथम हुनेले नगद पाँच लाख, दोस्रो हुनेले दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख २५ हजार पुरस्कार पाउने उनले जानकारी दिए ।


यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई दस हजार, उत्कृष्ट सेटरलाई छ हजार, उत्कृष्ट स्पाइकरलाई छ हजार, उत्कृष्ट ब्लकरलाई छ हजार, उत्कृष्ट डिफेन्डरलाई छ हजार, उत्कृष्ट सर्भरलाई छ हजार र म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद दुई हजार प्रदान गरिने संयोजक केसीले बताए ।

गलकोट नगरपालिका र गलकोट नगर खेलकुद विकास समितिसँगको समन्वय तथा नेपाल भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ बागलुङ, गलकोट उद्योग वाणिज्य सङ्घ र नगर भलिबल सङ्घ गलकोटसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ ।

प्रतियोगिता गलकोट नगरपालिका–६ स्थित मजुवाफाँटमा सञ्चालन हुनेछ । सोही अवसरमा साङ्गीतिक कार्यक्रम, नृत्य प्रतियोगिता ‘गलकोट डान्स आइडल’, रमाइलो मेलालगायत सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर नेपाली सङ्गीत क्षेत्रका विभिन्न कलाकारहरुको प्रस्तुती रहने संयोजक केसीले उल्लेख गरे ।