फिफा विश्वकप छनोट : नेपालले भोलि यमनसँग खेल्ने



काठमाडौं । विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपालले फिफा विश्वकप-२०२६ र एएफसी एसिया कप-२०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने एन्फाले जनाएको छ ।

छनोट खेलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जानकारी दिएको छ । यमनसँगको खेलको लागि साधारण पारापिटतर्फ ४ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । खेलको टिकट खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री हुनेछन् ।


खेलको लागि यमनको राष्ट्रिय टोली नेपाल आइसकेको र ललितपुरको च्यासल रंगशालामा प्रशिक्षण गरिरहेको छ । फिफा वरीयतामा यमन १५६ औं स्थानमा र नेपाल १७३ औं स्थानमा रहेका छन ।

विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेको छ । नेपालले पहिलो खेलमा यूएईसँग ४-० को हार बेहोरेको थियो ।