नेपाल जलवायु परिवर्तन र भूराजनीतिक जटिलताको सामना गरिरहेको छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तन र भूराजनीतिक जटिलताको सामना गरिरहेको बताएका छन्। भारतले आयोजना गरेको ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’मा शुक्रबार भर्चुअल सम्बोधन गर्नै प्रधानमन्त्रीले संकटबाट खाद्यान्न, स्वास्थ्य–शिक्षा, अर्थतन्त्र, वातावरण र शान्ति–सुरक्षामा प्रभाव पारेको बताएका हुन् ।

उनले जटिलताबाट सबैभन्दा धेरै अल्पविकसित राष्ट्रहरू प्रभावित भएको बताए । उनले भने, ‘हिमालयमा जलवायु परिवर्तनको प्रभावले हाम्रो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको छ । निर्धारित महत्वाकांक्षालाई समयसीमामा पूरा गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ।’


विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय शान्ति, विकास र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने उनले बताए। प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तरमा विश्वास कायम गर्न साझेदारी र सहकार्य प्रवर्द्धन र एकताका साथ काम गर्नुपर्ने बताए।

ग्लोबल साउथले गरिबी उन्मूलन र स्वस्थ्य जीवन निर्वाहमा टेवा पुर्याउनुपर्ने उनको भनाइ छ । उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए।

हिमालमा देखिएको जलवायु परिवर्तनले नेपालका लाखौं मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर असर पुर्याएको भन्दै प्रधानमन्त्रीले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले नेपालले प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपायहरू र हरियालीलाई प्रवर्द्धन गर्दै सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जनमा पुग्ने लक्ष्य राखेको बताए ।

प्रधानमन्त्रीले त्यसका लागि साझेदारहरूबाट विकास सहायता, एफडीआई, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोगजस्ता अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह गरे ।