दुर्गा प्रसाईँको कार्यक्रममा आएका महिला सुतेको ठाउँबाटै लखेटिए



काठमाडौं । मंसिर ७ गते दुर्गा प्रसाईँको प्रदर्शन कार्यक्रममा सहभागी हुन काठमाडौं बाहिरबाट आएका समर्थकहरू मध्यराति लखेटिएका छन् ।

इटहरीदेखि काठमाडौँ आएका प्रसाईँ समर्थक मंगलबार राति चाबहिलस्थित एक पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा अमानवीय तवरले लखेटिएका हुन् । एमालेको भातृ संगठन युवा संघका कार्यकर्ता बताउँदै मध्यराति सुतिरहेका महिलाहरुलाई लखेटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर ! तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ । त्यसपछि महिलाहरु हतारिएर लुगा लगाउन थाल्छन् । तर, उनीहरुलाई तुरुन्तै निस्किन आदेश दिइन्छ ।

एक महिलाले ‘लुगा लगाउन दिनु न हामीलाई’ भनेको सुनिन्छ । महिलाहरूले उज्यालोसम्म बस्न दिन र बिहान भएपछि आफै जाने भन्दै याचना गरेका छन् । तर, युवा संघका कार्यकर्ता बताउने उनीहरुले चेतावनीको भाषामा ‘हुँदैन’ भनेर तुरुन्त फर्किन भनेको भिडियोमा प्रस्ट सुनिन्छ ।

ती युवकले, ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन । देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर । दुर्गा प्रसाई पागललाई फोन गरेर युवा संघले लखेट्यो भनेर भन्नुस्’ भनेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भने सो घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् । उनले भिडियोको वास्तविकता बुझ्ने काम भइरहेको बताए । ‘शान्तिपूर्ण विरोध प्रदर्शनबाहेक हाम्रो अरू कुनै नीति छैन । नीतिविपरीत कसैले अमानवीय हर्कत गरेको पुष्टि भएमा सह्य हुँदैन,’ उनले भने ।