दाङबाट २० स्वास्थ्यकर्मी र १७ जना उद्धारटोली रुकुम पश्चिम पठाइयो



दाङ । गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा उपचारका लागि दाङबाट सशस्त्र प्रहरीको एक टोली पश्चिम रुकुमका लागि प्रस्थान गरेको छ ।

सशस्त्र प्रहरीका १७ जनाको उद्धार टोली त्यसतर्फ पठाइएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । जिल्लाबाट टोलीलाई उद्धारका लागि आवश्यक सामग्री, औषधीसहित पठाइएको उनले बताए ।


कर्णाली प्रदेश सरकारको समन्वयमा उद्धार पठाइएको प्रजिअ सुवेदीको भनाइ थियो । त्यस्तै भूकम्पपीडितहरुका लागि जिल्लाबाट खाद्यान्नलगायत सामग्री आज नै पठाउने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरेको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । उनले चिकित्सकसहित आजै स्वास्थ्य सामग्री लिएर स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको बताए ।

दाङमा भने अहिलेसम्म भूकम्पबाट कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । भूकम्प प्रभावितलाई उपचार गर्न लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी खटाएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली पठाएको हो ।

मास्कीका अनुसार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग समन्वय गरी २० जनाको टोलीलाई पश्चिम रुकुमको सल्ले अस्पताल पठाइएको हो । साथै उद्धार तथा समन्वयका लागि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेको नेतृत्वमा पनि सरकारको अर्को टोली त्यसतर्फ जाने तयारी भएको उनले बताए ।