तरकारीले बजार नपाउँदा किसान चिन्तित



भरतपुर (चितवन)। तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन्। राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन्।

बीस वर्षदेखि तरकारी खेती गर्दै आएका चितवनको रत्ननगर नगरपालिका-९ भानुचोकका मोहमद नबिहसन मियाँले तरकारीले बजार र मूल्य नपाउँदा बारीमा नै कुहिन थालेको बताए।


दैनिक सात-आठ जनालाई स्वदेशमै रोजगार दिँदै उनले छ बिघा जग्गा भाडामा लिएर २० वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। प्रतिकिलो ५० सम्ममा बेच्दै आएको काँक्रो एक्कासी भाउ घटेर प्रतिकिलो पाँच पुगेपछि टिप्नै छाडेको उनले बताए।

“१५-२० क्विन्टल काँक्रो बारीमै नटिपेर कुहिन सुरु गरेको छ”, मियाँले भने, “बजारको कुनै टुंगाे नै छैन।” मागभन्दा बढी तरकारी उत्पादन भएपछि तरकारी खपत हुँदैन र किसान घाटामा पर्छन्। भारतबाट ठूलो परिमाणमा तरकारी आयात हुनाले यहाँका किसानको उत्पादनले बजार पाउन नसकेको उनको भनाइ थियो।

“मान्छेले सबैभन्दा सजिलो तरकारीखेती हो भने पनि खेती गर्दाको लगानी, दुःख, कठिनाइ धेरै हुने गर्छ। जुन अरु खेतीमा छैन”, मियाँले भने। उनले बारीमा लगाएको काउलीको मूल्य १० प्रतिकिलो पनि नपाएकाले काट्न ढिला हुँदा काउली बारीमै कुहिन थालेको बताए।

“उपभोक्ताले काउली किनेर खाँदा प्रतिकिलो ३० सम्म पर्न गए पनि हामीले बजार पाएको छैनौं। हामीले बेच्दा घाटा खाएर बेच्नुपरेको छ”, मियाँले भने, “किसानले प्रतिकेजी मूल्य २० मात्रै पाउने हो भने पनि लगानी उठ्न सक्छ र बारीमा तरकारी पनि कुहिँदैन।”

सरकारले समयमा नै अनुदानमा रासायनिक मल नदिनु, नगरपालिकाले किसानको खेतबारी समयसमयमा अवलोकन गरेर परामर्श दिने संस्कारको विकास नहुनुलगायत कारणले किसान समस्यामा परेका मियाँले बताए। उनले भने, “तरकारी खेतीमा निकै समस्या छ। जग्गाको भाडा बुझाउन नसक्दा जग्गासमेत छाड्नुपर्ने बाध्यता छ।”

पश्चिम चितवनस्थित अृमतनगरका हेमराज आचार्यले आफ्नो बारीमा उत्पादन भएका काँक्रा, फर्सी, सिमी र मूला बिक्री नभएको बताए। “एक बिघामा काँक्रा र फर्सी उत्पादन गरेको छु। अहिले पाँच प्रतिकिलोमा पनि बिक्दैन”, उनले भने, “उत्पादन गरेर बारीमा नै कुँहाएर फाल्नुपर्छ।”

उनले व्यावसायिकरुपमा खेती गर्न थालेको पाँच वर्ष पुग्यो। जग्गा भाडामा लिएर चार बिघामा तरकारी खेती गरेका छन्। यस वर्ष फर्सी नबिकेर लगानी पूरै खेर गएको उनले बताए।

“दश कट्ठामा लगाएको फर्सी खेतीका लागि ६० हजार लगानी भएको थियो। यस वर्ष उत्पादन पनि राम्रो छ। उत्पादन दिन सुरु भएपछि व्यापारी नै आएनन्”, आचार्यले भने, “फर्सीमा पनि घाटा, काँक्रामा पनि घाटा, जे लगाए पनि घाटा, अब विदेश जानुपर्ने अवस्था आएको छ।” फर्सीको प्याकेजिङ गर्दामात्रै प्रतिकेजी १० लागत लाग्ने गरेको उनले बताए।

दशैंमा काँक्राको मूल्य राम्रै थियो। त्यसपछि ओरालो लागेको काँक्रो अहिले चारमा झरेको भन्दै यसले किसानको लगानी नउठ्ने आचार्यले दुखेसो पोखे। उनको दश कट्ठाको बारीमा काँक्रा छ। तरकारीको बिक्रीले नै घरखर्च टार्ने किसान आम्दानी नभएपछि मर्कामा परेका छन्।

भरतपुर महानगरपालिका-२५ स्थित अमृतनगरका अमृत रानाभाट तीन बिघामा तरकारी खेती गर्छन्। यतिखेर काँक्रो, फर्सी, मूला, क्यापसिकन, सिमी निस्किएका छन्। बिक्री नभएपछि बारीमा तरकारी कुहिएर खेर गएको उनले बताए।

“सिमी १० केजीमा पनि लैजान कठिन छ। त्यो टिप्ने बेलाका खेतलाको खर्च पनि उठ्दैन। काँक्रा र फर्सी त रू पाँचमा पनि बिक्री हुँदैन”, रानाभाटले भने, “बारीमा उत्पादन भएका वस्तु बारीमै कुहिन नदेऊ, पैसाको हिसाबपछि गरौँला बारीमा मात्र नराख्देऊ भनेर जिउजिउ गर्दा पनि व्यापारीले लिदैनन्।” फर्सी एक दिनपछि टिप्ने हुने भन्दै एकपटकमा २५ क्विन्टल उत्पादन हुने उनले बताए।

रानाभाटले दुई दिन बिराएर काँक्रो टिप्दा दुई क्विन्टल उत्पादन हुने भन्दै बजार मूल्य नपाउँदा सबै खेर गइरहेको बताए। बुवाको प्रेरणाले विसं २०६५ देखि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका रानाभाट खेतलाको पैसा नउठ्ने हो कि भन्ने चिन्तामा छन्।

चितवन तरकारी खेतीका रुपमा प्रख्यात छ। यहाँ उत्पादन भएको तरकारीले काठमाडौं, पोखरा, हेटौँडा, बुटवल, नेपालगञ्जलगायतका बजार जाने गर्दछन्। यतिखेर किसानले सिमी, फर्सी, काँक्रा, काउली र बन्दा उत्पादन गरेका छन्। उनीहरुले उत्पादन गरेको तरकारी बिक्री हुन नसक्दा चिन्तित बनेका छन्।

काँक्रो, फर्सी, मूला, सिमीलगायतका तरकारी बारीमै टिपेर थुपार्नु परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका तरकारी जोन सञ्चालक समितिका अध्यक्ष लेखनाथ भुसालले बताए।

“पश्चिम चितवनलाई समेटेर तरकारीको जोन क्षेत्रसमेत बनाइएको छ। यहाँ एक हजार हेक्टरमा तरकारी खेती हुन्छ । अहिले एक हेक्टरमा २० टनको हाराहारीमा फर्सी र काँक्रो उत्पादन भएको छ”, उनले भने, “फर्सी दैनिक १५ टनको हाराहारीमा खेर गइरहेको छ।”

पाँच टनको हाराहारीमा रू पाँच प्रतिकेजीमा व्यापारीले फर्सी उठाएको भुसालले जानकारी दिए। पाँच रूपैयाँमा बेच्दा किसानलाई प्रतिकेजी तीन रूपैयाँभन्दा बढी घाटा लाग्ने उनको भनाइ छ। किसानले तरकारीको मूल्य नपाए पनि उपभोक्ताले भने चर्को मूल्य तिर्न बाध्य छन्।