ढिलै भए पनि न्याय पाएँ : प्रेम चलाउने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने ढिलै भएपनि आंशिक न्याय पाएको बताएका छन् । आफूमाथि आक्रमण गर्नेलाई अदालतले दोषी ठहर गरेपछि सामाजिक संजालमार्फत चलाउनेले यस्तो बताएका हुन् । चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई बिहीबार जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै दुईवर्षको कैद सजाय सुनाएको थियो ।

चलाउनेले भनेका छन्, ‘ढिलै भए पनि मैले आंशिक न्याय पाएको छु। यो म एक्लैले केही गर्न सक्दैनथेँ। धेरैजना मित्रहरू यो उपलब्धिका असली हकदार हुनुहुन्छ । प्रिय पत्रकार साथीहरू, मेरा अधिवक्ता मित्रहरू, सडक संघर्षमा होमिने साथीहरू, माइतीघर मोर्चा, प्राज्ञिक जगत्, मेरा सहकर्मी मित्रहरू, प्यारा विद्यार्थी, देश विदेशबाट उठेको सामाजिक सञ्जाल, आम न्यायप्रेमी जनसमुदाय, संसदमा आवाज बुलन्द पार्ने सांसद मलाई साथ दिन आउनुभयो।’


उनले कानुनमन्त्री धनराज गुरुङ तथा केही कांग्रेस नेताले अदालतमाथि नांगो हस्तक्षेप गरेको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘देशको कानुनमन्त्रीलगायत केही कांग्रेसी नेता अपराधी जोगाउन अदालतमाथि नांगो हस्तक्षेप गरिरहेका थिए र त्यसको पवित्रतामाथि प्रहार गरिरहेका थिए, उनीहरू नांगै थिए । न्यायालयभित्र मेरा अधिवक्ता, सरकारी वकिल, बाहिर खुला इजलासमा पत्रकार मित्रहरू मेरा निम्ति सत्य र न्यायको दूत बन्नुभयो र न्यायको बहस पैरवी गर्नुभयो। तपाईँहरूले गर्दा केही हदसम्म अँध्यारोमाथि उज्यालो, असत्य र अन्यायमाथि सत्य र न्यायको जित भएको छ।’

तर, संस्थागतरूपमा कानुन व्यवसायीका केही संगठन र तिनका पदाधिकारीको भूमिकामा भने उनले प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘संस्थागत रूपमा डीएलए, जिल्ला बार वा नेपाल बारको गरिमामय पदमा आसिन व्यक्तित्व पार्टी वा कुनै भातृ संगठनको भेषमा खुलेआम अपराध गर्ने गुण्डा जोगाउन आउने कुरा हाम्रो अहिलेको समयको सबैभन्दा ठूलो दुःखान्त हो। मलाई साथ दिने तपाईंहरुप्रति ऋणि छु । यो ऋण आफूजस्तै अन्यायमा परेकाहरूका निम्ति लडेर तिर्ने वाचा गर्दछु ।’