विराटनगर । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले आज प्रदेशसभाको विभिन्न विषयगत समितिमा मनोनयन गरिएका सदस्यहरुको नाम सार्वजनिक गरेका छन् । प्रदेशसभा निर्वाचन भएको १० महिनापछि सभाका विभिन्न विषयगत समितिमा सदस्यहरुको मनोनयन गरिएको हो ।
न्याय प्रशासन तथा विधायन समितिमा १२, सुशासन तथा योजना समितिमा १५, अर्थ समितिमा १३, सार्वजनिक लेखा समितिमा ११, सामाजिक विकास समितिमा १२, उद्योग, पर्यटन तथा वातावरण समितिमा १३ र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा १२ जनालाई मनोनयन गरिएको थियो ।
प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १३३ बमोजिम ती समितिमा सदस्यहरुलाई मनोनयन गरिएको हो।
आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल जारी रह्यो। प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम ९३ (१) बमोजिम सो विधेयक बिनाविभागीय मन्त्री शमशेर राईले सदनमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त विधेयकलाई उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ पेश गर्दा सर्वसम्मत पारित गरिएकाले सैद्धान्तिक छलफलले निरन्तरता पाएको हो।
सैद्धान्तिक छलफल शुरु हुनुअगाडि कोशी प्रदेशसभा सदस्य विदुरकमार लिंथेमले विधेयकलाई सैद्धान्तिक छलफलमा लैजानुभन्दा पहिले विषयगत समितिमा छलफल एवं बहस गराउनुपर्ने मागसहित नियमापत्ति गरेका थिए ।
त्यसपछि प्रारम्भ भएको छलफलमा प्रदेशसभा सदस्यहरू प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, गीता तिमल्सेना, किशोरचन्द्र दुलाल, रमेशकुमार बस्नेत, पाँचकर्ण राई र जयप्रकाश चौधरीले सुशासन, स्थानीय प्रशासन र सेवासँग जोडिएको यो विधेयकलाई समृद्ध बनाउन विषयगत समितिमै छलफल हुनुपर्नेमा जोड दिए ।