केपी ओली कप टी–२० क्रिकेटमा १२ टीमले सहभागिता जनाउने



पोखरा । पोखरामा बिहीबारदेखि शुरु हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा टी–२० क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा हुनेछ ।

मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा ३ विभागी, ७ प्रदेश र आयोजकका दुई टिम गरी १२ टिमको सहभागिता जनाउने छन् । सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब तथा मदन भण्डारी स्पोसर्ट एकेडेमीका रातो र निलो गरी १२ टीमको सहभागिता रहने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।


प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०/२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने भण्डारीले बताए । प्रतियोगिता हेर्न क्रिकेट रंगशालामा अस्थायी प्यारापिट बनाइएको छ ।

साढे ५ सय दर्शक अट्ने प्यारापिटमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।