कुलमानलाई कार्यालय प्रवेश गर्न नदिने आन्दोलनरत कर्मचारीहरुको घोषणा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।

सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलन थालेका प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक घिसिङलाई कार्यालयमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।


घिसिङसँगै उपकार्यकारी निर्देशक, प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरिएको कर्मचारीहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

त्यस्तै आज कात्तिक १९ गते ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, भोलि कात्तिक २० गते ११ः१५ बजेदेखि १२ः४५ बजेसम्म र पर्सि ११ः१५ बजेदेखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने उनीहरूले बताएका छन् ।