लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमती लिन सर्वसाधरणलाई आग्रह गरेको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै निजी रुपले पालिका कुकुरहरुलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन १५ दिने सार्वजनिक सुचना जारी गरेको हो ।
बेसीशहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा वेवारिसे तथा घरपालुवा कुकुरहरुको संख्या बृद्धि भई फोहोर र प्रदुषण र दुर्घटनासमेत बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न नगरपालिकाले सुचना जारी गरेको हो ।
विशेषगरी कुकुरहरुले बजार क्षेत्र अन्तर्गतका सडक छेउमा रहेका घर तथा होटलहरुमा पसी खानेकुरा खाईदिने तथा घरभित्रै पसेर दिसापिसा गरी फोहर बनाउने र सडक पेटी तथा नालीहरुमा जथाभावी रुपमा दिशापिसा गरी फोहर भएको गुनासो आएसँगै त्यसलाइ व्यवस्थापन गर्न नगरपालिका लागि परेको सुचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले निजी रुपमा पालिएका कुकुरहरुलाई जथाभावी रुपमा नछाड्न र सडक पेटी, छेउ, भित्ता तथा नालीहरुमा अब्यवस्थित तवरबाट दिशा पिसाव गराउने कार्य बन्द तथा गराउन पनि सोही सुचनामार्फत आग्रह गरेको छ ।
नागरिकबाट गुनासो आए सँगै कुकुर व्यवस्थापनका निम्ती नगरपालिकाले १५ दिनको अवधि दिएर सार्वजनिक सुचना जारी गरेको हो । सो अवधी भित्र घरपालुवा कुकुर नगरपालिकामा दर्ता नगराएमा तथा अनुमति नलिएमा नियमानुसार जरिवाना तथा कारबाही प्रकृया अगाडि बढाईने नगरपालिकाले जनाएको छ ।