राष्ट्रपति बाइडेन इजरायल जादै



अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको भ्रमण गर्ने भएका छन् । हाल इजरायलमै रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले राष्टपति बाइडेन इजरायल आउने घोषणा गरेका हुन् ।

हमास र इजरायलबीच युद्ध जारी रहेका बेला राष्ट्रपति बाइडेनको इजरायल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मिडिया रिपोर्टका अनुसार उनी बुधबार इजरायल पुग्ने र त्यसपछि जोर्डनको समेत भ्रमण गर्ने भएका छन् ।


अमेरिकाले इजरायलको पक्षमा आफ्नो प्रतिबद्धता कायम राख्न उच्चस्तरीय भ्रमण गरिरहेको विश्लेषण गरिएको छ । विदेशमन्त्री ब्लिंकनपनि एक सातामै दुई पटक इजरायल पुगेका छन् ।

अमेरिकाले गाजामा इजरायलको आक्रमण जारी रहेका बेला मानवीय कोरिडोर खोल्न पहल गरिरहेको छ भने हमासले बन्धक बनाएका आफ्ना नागरिकलाई छुटाउन समेत पहल गरिरहेको छ ।

हमासको आक्रमणमा २५ अमेरिकीको मृत्यु भएको अमेरिकाले बताएको छ ।