काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डललाई प्रधानमन्त्री र गृहमन्त्रीलाई जवाफदेही किन नबनाएको भन्दै प्रश्न गरेका छन् ।
सोमबार रास्वपाका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलले नेपालगञ्जका ‘रिगल’ भनिने योगराज ढकाललाई संविधान दिवसको दिन आममाफी दिएको विषयमा राष्ट्रपति पौडेललाई ध्यानाकर्षण बुझाएपछि उनले रास्वपालाई प्रधानमन्त्री र गृहमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने बताएका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले ध्यानाकर्षण पत्र बुझ्दै सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफुले अस्वीकार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट गरेका थिए ।
राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषदले गरेको निर्णयको जस, अपसजको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न आग्रह गरेका थिए।
उनले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको उल्लेख गरेका थिए ।
उनले भनेका थिए- ‘हाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईंहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैन । तपाईंहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यही तपाईंहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्थाअनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो । कहिलेकाहीँ यहाँ आउनुपर्ने अवस्था नेताहरूको हुन सक्छ तर यसपटक आएकोचाहिँ उल्टो भयो कि जस्तो लाग्यो ।’
राष्ट्रपति पौडेलले छ सय ७० जनाको बाँकी कैद मिनाहाको विषय प्रक्रिया पुर्याएर मन्त्रिपरिषदले निर्णय गरेपछि आएकोले आफूले स्वीकार गरेको बताएका थिए । रास्वपाका सभापति लामिछानेसहितको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सबै कुराको दोष राष्ट्रपतिलाई थोपरेर व्यवस्थाप्रति आक्रमण गर्ने प्रयास भएकाले सचेत रहनुपर्ने बताएका थिए ।