युक्रेन मेल डिपोमा रुसी हमला, छ जनाको मृत्यु



किभ । युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राखेकाे भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा पोश्ताको लोगासहितको एउटा कन्टेनर देखिन्छ । 


‘अतिक्रमणकारीहरूको आक्रमणबाट सबै छ जनाको मृत्यु र १४ जना घाइते भएका छन्, उनीहरू सबै नोभा पोश्ता   टर्मिनलभित्र थिए’, खार्किभ क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले भने, ‘मारिने र घाइतेहरूको उमेर १९ देखि ४२ वर्षबीचका रहेका छन् उनीहरूलाई छर्रा र विस्फोटबाट चोट लागेको थियो ।’

घाइतेको अस्पतालमा उपचार भइरहेको छ । गभर्नर सिनेगुबोभका अनुसार  सात जनाको अवस्था गम्भीर छ । ‘चिकित्सकहरू उनीहरूलाई बचाउन प्रयास गरिरहेका छन्’, उनले भने।