भादगाउँ । कात्तिक स् बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा बुधबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा सम्पन्न गरेको छ । तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा सम्पन्न गरेको हो ।
दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गरिएको थियो ।
तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुई पोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।
जात्रामा दसैँको नवमीमा तलेजु भवानीलाई चढाएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ । विशेषगरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रमुख प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ ।
जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोसमेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ । जात्राका अवसरमा बालकुमारीमा भूईंफसी (कुभिण्डो) मार हानेर बलि दिइन्छ ।
बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । जात्राको अन्तिममा भूईफसी मार हान्ने भएकाले यसलाई भूईफसी पालेगु जात्रा पनि भनिन्छ । मध्यकालमा थिमि स्वशासित (भक्तपुर नियन्त्रित) राज्य थियो । यसको सिमाना पूर्वमा निकोसेरा, पश्चिममा पुरानो सिनामङ्गल (एअरपोर्ट पारी), उत्तरमा मूलपानी वारी र दक्षिणमा ललितपुरको लुभु वारीसम्म फैलिएको विश्वास रहेको मध्यपुर थिमिमा सञ्चारकर्मी एवम् अध्येता केके मानन्धरले बताए ।
तत्कालीन राज्यको प्रमुख प्रशासकीय केन्द्र हालको लायकू दरबार (आदर्श मावि) भएको सन्दर्भ अहिले पनि नेपाल सरकारबाट लाय्कुमा नायः पःमाको नियुक्ती गरिँदै आएकोले पुष्टि हुने मानन्धरले बताए । “थिमि लायकूका हाल नायः पःमां श्यामकाजी पःमां श्रेष्ठ हुन् । जसरी नायः पःमां कोअर्थ प्रधानहरुको अध्यक्ष अर्थात् साधारणतया उहिलेको दरबारिया प्रधानमन्त्री जस्तै हो,” मानन्धरले भने । थिमि स्वशासित राज्यमा जोशी, कर्माचार्य, श्रेष्ठ, प्रजापति, कुटु, प्याथः, खड्गी, कपाली तथा अन्य समुदायको आवद्धता थियो ।
श्रेष्ठ थरमध्ये छुँ, खुटेखाटे, प्वात्या लगायतको आवद्धता दरबारीया प्रशासकको रुपमा र कुटुरप्याथः समुदाय सैनिकको रुपमा दरबारमा थिए भने खड्गी समुदायले खाँ सम्बन्धीको काम गर्ने, बाजा बजाउने र कपाली समुदायले म्वायली बाजा बनाउनेको रुपमा काम गर्थे ।
मल्लकालीन युद्धकलाको झझल्को दिने खाँ पिहाँवइगु जात्रा सामावेशी प्रकृतिको भएकोले उहिलेको राज्य पनि समृद्ध र समावेशी दृष्टिकोणले सञ्चालन भएको अनुमान लगाउन सकिने मानन्धरले बताए ।