बलिवुड अभिनेत्री नुसरत इजरायलमा सम्पर्कविहिन



काठमाडौँ । हमासले इजरायलमाथि अकस्मात आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ । यसैबीच बलिवुड अभिनेत्री नुसरत भरुचा इजरायलमा सम्पर्कविहिन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । इजरायल र प्यालेस्टाइनबीच चलिरहेको द्वन्द्वका बीच अभिनेत्री नुसरत इजरायलमा फसेकी छिन् । 

नुसरतको टोलीका एक सदस्यले आफैंले यो जानकारी दिएका छन् । नुसरत भरुचाको टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्भाग्यवश नुसरत इजरायलमा फसेकी छिन् ।


हाइफा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन उनी त्यहाँ गएकी थिइन् । उनीसँग अन्तिम पटक शनिबार दिउँसो १२.३० बजे सम्पर्क भएको थियो, जब उनी बेसमेन्टमा सुरक्षित थिइन् । त्यस यता भने उनीसँग सम्पर्क हुन नसकेको उनको टिमले बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनको टिमले अभिनेत्रीसँग सम्पर्कको प्रयास गरिरहेको र सम्पर्क हुनासाथ भारतको विदेश मन्त्रालयको सहयोग लिने उनीहरुले बताएका छन् । 

हमासको आक्रमणपछि अहिलेसम्म करिब ३०० इजरायलीको मृत्यु भएको बताइएको छ भने इजरायलको जवाफी आक्रमणमा हमासका २०० भन्दा बढीको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।