प्रहरीको पेट्रोल पम्पमा एक करोडको अनियमितता गर्ने असई दोषी ठहर



काठमाडौं । प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालस्थित पेट्रोल पम्पमा एक करोड रूपैयाँ हिनामिना गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) दिलीप कार्की दोषी ठहर भएका छन् ।

सोमबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई दोषी ठहर हुने फैसला सुनाएको हो । उनलाई सजाय भने निर्धारण हुन बाँकी छ । पेट्रोल पम्पमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा असई कार्कीले एक करोड ३ लाख ९७ हजार रूपैयाँ हिनामिना गरेको आरोप लागेको थियो ।


उनले फर्जी विवरण बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

असई कार्कीले उनी पम्पमा कार्यरत रहँदा केही व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्टि गरी हुँदै नभएको कारोबारका आधारमा असुली देखाएर रकम हिनामिना गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।