नयाँ निकास निकाल्ने क्रममा कांग्रेसका कार्कीलाई समर्थन गरेका हौँ : हिक्मत कार्की



विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दल नेता हिक्मत कार्कीले माओवादी केन्द्रले कुरा नसुनेपछि मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ‘विद्रोही’ सांसदहरुलाई साथ दिइएको बताएका छन् । बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नेबारे छलफलमा बोल्दै नेता कार्कीले नयाँ निकास निकाल्ने क्रममा कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरिएको बताएका हुन् ।

नेता हिक्मत कार्कीले भने, ‘कांग्रेस संस्थापन पक्षले हामीसँग सहकार्य गर्न चाहेन । माओवादीले पनि हाम्रा कुरा सुनेन । त्यसैले कांग्रेसका विद्रोहीलाई साथ दिएका हौं । गठबन्धनले संघीयतामाथि प्रहार गर्दै अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षप्त भयौं । त्यसैले कांग्रेसका कार्कीलाई समर्थन गरिएको हो ।’


केदार कार्की कांग्रेसमा विद्रोह गरेका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । हिक्मत कार्कीले अहिलेको अवस्था परिस्थिति बनाएको भन्दै एमालेले गलत गरेको समेत बताए ।

उनले कोशीमा विगत १० महिनादेखि सरकार बनाउने काम मात्रै भइरहेको बताउँदै भने, ‘अब त्यस्तो स्थिति आउँदैन । मध्यावधिमा जाने जनताको चाहना छैन । यो कुरा चुनावमा जान डराएर हामीले भनेको होइन ।’ संघीयता र सुशासनका पक्षमा सरकार रहिन्जेल एमालेले समर्थन गर्ने उनको भनाइ थियो ।