काठमाडौं । दशैंसँगै काठमाडौँ उपत्यका सुनसान भएको छ । अधिकांश मानिस दशैं मनाउन उपत्यका बाहिर गएपछि काठमाडौँमा सुनसान भएको हो ।
अन्य समयमा व्यस्त हुने काठमाडौंका सडक सुनसान भएका छन् भने सार्वजनिक यातायात पनि कम मात्र चलेको पाइन्छ ।
दशैं लागेपछि काठमाडौँबाट दैनिक १ लाखसम्म यात्रु बाहिरिएका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबारसम्म उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको अनुमान छ ।
दशैं मनाउन धेरैजसो उपत्यका बाहिर गएको अवसरमा काठमाडौंका हुन सक्ने आपराधिक घटनाको निगरानीका लागि विशेष सुरक्षा योजना बनाएको प्रहरीले जनाएको छ । साथै अन्य समयमा व्यस्त रहेर भ्याइ नभ्याई हुने ट्राफिक प्रहरीलाई अहिले दशैंको अवसरमा भने ट्राफिक व्यवस्थापनको झन्झट कम भएको छ ।