जापान पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ



काठमाडौँ । जापान पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जापान पठाइदिने आश्वासन दिएर ठगेको आरोपमा प्रहरीले एक जना मेनपावर सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ जिल्ला लेटाङ घर भई हाल काठमाडौँको धुम्बराही बस्दै आएका ५० वर्षीय डिल्लीराम खतिवडा रहेका छन् । उनले जेनुइन प्लेसमेन्ट प्राइभेट लिमिटेड मेनपावर सञ्चालन गर्दै आएका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।


प्रहरीका अनुसार उनले ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने आश्वासन दिएर प्रतिव्यक्ति आठ लाख रुपैयाँ उठाएका थिए । उनले जापान पुगेपछि प्रतिष्ठित कन्ट्रक्सनको काम लगाइदिने र मासिक एक लाख ८० हजार तलब हुने आश्वासन दिएका थिए ।

उनले पीडितहरूबाट पटकपटक गरी ४६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ । रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।