गुटेरेससँग ओलीले भने- प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको हाे



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन असहज भएको बताएका छन् ।

आईतबार संघीय संसद भवनमा महासचिव गुटेरेससँगको भेटवार्तामा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुग्न नसकेको बताएका थिए ।


माओवादी युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री प्रचण्डको कामले शान्ति प्रक्रियामा असहजता थपिएको अध्यक्ष ओलीले राष्ट्रसंघका महासचिव गुटेरेससँगकाको भेटमा बताएको एमाले उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘हाम्रो तर्फबाट हाम्रो पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुनु हुँदैन । त्यो चाहिँ पीडितहरुलाई ध्यान राखेर समाधान गरिनुपर्छ । हामी त्यसलाई छिटो भन्दा छिटो टुंग्याउन चाहन्छौं । तर प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो । आज प्रधानमन्त्री हुनुहुुन्छ । उहाँले नै यी सबै विषयहरु टुंग्याउन भूमिका खेल्नुपर्नेमा चाहीँ अलिकति हिंसालाई बढावा दिने खालको, हिंसालाई महिमामण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउँदा गम्भीर अपराधमा आममाफी हुन नहुने, अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुलाई ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको जुन आदेश छ, त्यो कुरालाई समेत ध्यानमा राखेर त्यो विषय छिटो भन्दा छिटो टुंगियोस् चाहना राखेको जानकारी गराएको नेता ज्ञवालीले बताए । महासचिव गुटेरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए ।