गाजामा एक हजारभन्दा बढी मानिस बेपत्ता छन् । प्यालेस्टिनी सिभिल डिफेन्सका अनुसार ती व्यक्तिहरू इजरायली बम आक्रमणमा ध्वस्त भएका घर र भवनहरू मुनि दबिएका छन्।
गाजामा हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयका प्रवक्ता इयाद अल-बोजोमले पनि गाजामा एक हजारभन्दा बढी व्यक्ति बेपत्ता भएको पुष्टि गरेका छन्।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आज अक्टोबर ७ यता गाजामा २७५० प्यालेस्टाइनीको मृत्यु भएको र ९७०० जना घाइते भएको जनाएको छ ।
उसले वेस्ट बैंकमा अन्य ५८ जनाको मृत्यु भएको र १२५० जना घाइते भएको बताएको छ । प्यालेस्टिनी पत्रकार सिन्डिकेटका अनुसार मारिनेहरूमा ११ प्यालेस्टिनी पत्रकार पनि थिए।