खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प



रामेछाप । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतीक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।

नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने विमान कहिलेकाहीँ  फाप्लुको मौसम खुलेपछि त्यहाँ अवतरण गर्ने प्राधिकरण प्रमुख अशोक थापाले बताए ।


पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिरहेका भन्दै हेलिकप्टरका लागि पनि भिजिविलिटि कम भएको उनले जानकारी दिए । प्रमुख थापाका अनुसार तीन वायुसेवा कम्पनीले सात जहाज तथा आवश्यक पाइलटसहितका अन्य जनशक्ति तयारी अवस्थामा राखेका छन् ।

“सीता एयरका दुई, यति एयरलाइन्सका दुई र समिट एयरका तीन जहाज विमानस्थलमा पार्किङ गरी राखिएका छन्”, उनले भने, “शनिबारदेखि एक्कासि मौसम बिग्रिएपछि हेलिकप्टर बाहेक अन्य उडान लुक्लाका लागि हुन सकेका छैनन् ।”