क्रिकेट विश्वकपमा आज श्रीलंका र अस्ट्रेलियाबीच भिडन्त



काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज श्रीलंका र अस्ट्रेलियाबीच भिडन्त हुदै छ । भारतको लखनउस्थित अटल बाजपेयी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ ।

जारी क्रिकेट विश्वकपमा अस्ट्रेलिया र श्रीलंका दुवैले खराब शुरुवात गरेका छन् । दुवैले यस विश्वकपमा आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेका छन् ।


अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा भारतसँग ६ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १३४ रनको हार बेहोरेको थियो । त्यसैगरी श्रीलंकाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग १०२ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ६ विकेटको हार बेहोरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलिया र श्रीलंका यस अघि १०३ पटक आमने सामने भएका छन् । जसमा अस्ट्रेलियाले ६३ पटक जितेको छ भने श्रीलंकाले ३६ पटक जितेको छ । त्यसैगरी ४ खेलको कुनै नतिजा आएको छैन ।

त्यसैगरी क्रिकेट विश्वकपमा दुवै देश अहिलेसम्म ११ पटक आमने सामने भएका छन्, जसमा अस्ट्रेलियाले ८ खेल जितेको छ भने श्रीलंकाले केवल २ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन । 

कप्तान दुसान शनाका घाइते हुदै विश्वकपबाट बाहिरिएपछि श्रीलंकालाई ठुलो झट्का लागेको छ । अब श्रीलंकाको कप्तानी कुशल मेण्डिसले गर्ने भएका छन् । त्यस्तै अस्ट्रेलियाले पनि यस विश्वकपमा उसको परम्परागत लय गुमाएको छ । यस अघि दक्षिण अफ्रिका र भारतविरुद्ध अस्ट्रेलियाले संघर्ष गरेको देखिएको छ । 

अब विश्वकपमा सेमिफाइनलमा आफ्नो दाबेदारी कायम गर्न दुवै देशलाई यो खेल जितेर अगाडी बढ्नुपर्ने अवस्था छ ।

अष्ट्रेलियाको सम्भावित प्लेइङ ११ : डेभिड वार्नर, मिचेल मार्स, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन,  क्यामरुन ग्रीन, जोश इंग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), जोश हेजलवुड र एडम जाम्पा ।

श्रीलंकाको सम्भावित टोलीः कुसल मेन्डिस (कप्तान), कुसल परेरा, पथुम निसान्का, सदिरा समरविक्रमा, चारिथ असालान्का, धनन्जया डी सिल्भा, दुशन हेमन्था, महीश थिकक्षना, दुनिथ वेलालगे, मथीसा पथीराना, लाहिरु कुमारा ।