इजरायलको बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे भिडियो कुराकानी, छिटो उद्धार गर्ने आश्वासन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासको आक्रमण बंकरमा रहेका नेपाली विद्यार्थीहरुसँग भिडियो कुराकानी गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल इजरायलको बंकरमा रहेका विपिन सुबेदीसँग प्रधानमन्त्री प्रचण्डले कुराकानी गर्दै छिटो भन्दा छिटो उद्धारको पहल भइरहेको जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्दै बंकरमा रहेका विपिनले आफुहरुलाई छिटो भन्दा छिटो उद्धार गरिदिन आग्रह गरेका थिए । 


प्रधानमन्त्रीको सचिवालयले इजरायली पक्षसँग कुरा गरि आज नै युद्ध क्षेत्रका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिने जानकारी दिएको छ । हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बङ्करको विद्यार्थीलाई निकाल्न केही ढिलाई भएको सचिवालयले जनाएको छ ।

हमासको आक्रमणपछि इजरायल पुगेका कृषि विषयका १० विद्यार्थीको मृत्यु भएको छ भने एक जना सम्पर्कविहिन छन् ।

इजरायलमा हाल ४५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् भने इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । अध्ययनका निम्ति गएका मध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् । सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।