हमाससँग विपिनलाई मुक्त गर्न इजरायली राजदूत हनानको आग्रह



काठमाडौं । नेपालस्थित इजरायली राजदूत हनान गोडेरले प्यालेस्टिनी चरमपन्थी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई मुक्त गर्न आग्रह गरेका छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइएका नेपाली विद्यार्थीहरुको शवमा श्रद्धाञ्जली अर्पण गरेपछि उनले पत्रकारहरुसँग कुरा गर्दै विपिनको खोजी जारी रहेको बताएका हुन् ।

उनले जोशीसहितका अवोध नागरिकलाई हमासले नियन्त्रणमा लिएको बताउँदै भने, ‘हमासको कब्जामा परेका जोशी कहाँ छन् थाहा छैन । हामीले जोशीको खोजी जारी राखेका छौँ ।’ राजदूत हनानले आतंककारीलाई पनि विपिनलगायत कब्जामा रहेका अबोध नागरिकलाई छोड्न आग्रह गरेको बताए ।


गत असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एकजना (विपिन जोशी) सम्पर्कविहीन छन् । मृतक १० जनामध्ये आइतबार चार शव नेपाल ल्याइएको छ । आइतबार नेपाल ल्याइपुर्याइएका नेपाली विद्यार्थीहरुको शवमा श्रद्धाञ्जली अर्पण गरेपछि राजदूत गोडेरले अर्को एउटा शव दुई दिनपछि नेपाल आइपुग्ने जानकारी दिए ।

‘इजरायलमा एक हजार ४०० शवहरु छन् । हामी शवको पहिचान गर्ने प्रक्रियामा छौं’ उनले भने, ‘आज चार जनाको शव आएको छ । अर्को एउटा शव दुई दिनपछि आउनेछ । थप पाँच जनाको शव पहिचान गर्ने काम जारी छ ।’