काठमाडौं । इजरायलमा लिग खेलिरहेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले आफू सुरक्षित रहेको जानकारी दिएकी छन् ।
सावित्रा हाल इजरायली क्लब होपोएल रानानाबाट व्यावसायिक फुटबल खेलिरहेकी छन् । चीनको हाङचोउमा सम्पन्न एसियाली खेलकुदमा सहभागी भएर फर्किएलगत्तै सावित्रा क्लबमा फर्किएकी थिइन् । इजरायलमा हमासको आक्रमणपछि सबै खेल गतिबिधि स्थगित भएका छन् । सावित्रा हाल आफू तेल अभिभस्थित नेपाली दूतावासमा कार्यरत कर्मचारीसँगै रहेको बताएकी छन् ।
क्लबबाट खेल्ने विदेशी खेलाडी स्वदेश फर्कन चाहिरहेको र व्यवस्थापनले पनि पहल गरिरहेको सावित्राले बताएकी छन् । भारतीय खेलाडीसँगै आफूलाई पनि फर्काउने प्रयासमा क्लब व्यवस्थापन रहेको उनले बताएकी छन् । नेपालीहरु लिन नेपालबाट विमान आएमा भने उनले आफु त्यसमै नेपाल फर्कने तयारीमा रहेको बताएकी छन् ।