सम्झौता भएको डेढ वर्षपछि सडक निर्माण सुरु



जानकी । बाँकेको जानकी गाउँपालिका हुँदै खजुरा दुई सीतापुर जोड्ने परसपुर-गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का पाएर सम्झौता गरेको झण्डै डेढ वर्षपछि नेपालगञ्ज उपमहानगरपालिकाको सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु भएको हो । 

ठेकेदार कम्पनीले सम्झौता भएको १६ महिनापछि शुक्रबारदेखि परसपुर-गौघाट सडकखण्डमा सुरुआती चरणमा खाल्डाखुल्डी सम्याउने काम सुरु गरेको खजुरा गाउँपालिका २ का वडाअध्यक्ष धनराम ओलीले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा खाल्डाखुल्डी सम्याउने र दशैँपछि माटो पटान काम गर्ने बताए । सम्झौताअनुसार समयमै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने प्रतिबद्धता गरिएको छ ।


अध्यक्ष ओलीले भने, ‘ठेक्का भएर पनि समयमै काम सुरु हुनसकेन । यसबाट जनतालाई थप दुःख भोग्नुपरेको छ । जनताको समस्या बुझेर हामीले सम्बन्धित निकायलाई पटक-पटक दबाब दिने काम गरेकाछौँ । शुक्रबारबाट काम सुरु भएको छ ।’ करिब १० किलोमिटर सडक कालोपत्रका लागि कन्काई र गणपति रु १३ करोड ४३ लाखमा जिम्मेवारी पाएको थियो । कम्पनीले अघिल्लो वर्ष वैशाख २५ गतेदेखि सडक निर्माण सुरु गरी २०८१ भदौ २५ गते निर्माण सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय नेपालगञ्जसँग सम्झौता गरेको थियो ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आर्थिक वर्ष २०७८-७९ मा बजेट विनियोजन गरी निर्माण सुरु गरेको हो । उक्त सडकलाई बर्दियाको कन्ठपुरहुँदै गुलरिया सडकखण्डमा जोड्ने योजना रहेको छ ।