सत्ता गठबन्धनमा कोशी सरकार गठनले असर पर्दैन : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशी सरकार गठनले कुनै असर नपर्ने बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारहरुसँगको कुराकानी गर्दै नेता कोइरालाले कोशी प्रदेशसभाको जटिल अंक गणितले मध्यावधि निर्वाचन टार्नमात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको भन्दै यसले गठबन्धन तथा संघीय सरकारलाई असर नपर्ने बताएका हुन् ।

कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि राप्रपाका नेतासँग कुराकानी गरेको आधारमा प्रदेशसभा जोगाउन मुख्यमन्त्री केदार कार्कीले विद्रोह गरेको उनको भनाइ छ ।


राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएबाट पनि उनीहरूको मनसाय उजागर भएको बताउँदै नेता कोइरालाले भने, ‘गठबन्धनको निर्णयका आधारमा राप्रपाको भर परेर मुख्यमन्त्री नियुक्ति प्रक्रियामा गएको भए प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जानुपर्दथ्यो ।’ कोशीमा अहिले सरकार गठन भएको अवस्थालाई नै समेटेर विस्तार हुने उनको भनाइ छ ।