सजाय माफी दिने सरकारको निर्णय बदनियतपूर्ण छ- गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गम्भीर अपराधका दोषीलाई सजाय माफी दिएर सरकारले बदनियतपूर्ण काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले कानुनको दुरुपयोग गरेर सजाय माफी मिनाहा दिनु संबिधानको मर्मविपरित भएको बताएका हुन् ।

थापाले कानुनको छिद्रबाट बदनियतका साथ माफी दिइएको भन्दै संसदले यस्लाई तुरुन्त सच्च्याउनुपर्ने बताएका छन् ।


महामन्त्री थापाले भने- ‘संविधान दिवसका दिन ६७० जनालाई माफी मिनाहा गरिएको छ । त्यसमध्ये कति त संविधान र कानुनसम्मत पनि छ होला । तर फेरि एकपटक संविधानको मर्मविपरीत र कानुनको छिद्रबाट बदनियतका साथमा छिरेर गम्भीर अपराधमा दोषी ठहर भएका दोषीहरूलाई कैद माफी मिनाहा गरिएको छ । बदनियतका साथ भएको यो निर्णय गलत छ । यसको विरोध स्वभाविक छ, बाञ्छनिय छ, यसको विरोध हुन्छ, र हामी विरोध गर्दछौँ । यो विषय अदालतको ढोकासम्म पुगेको छ, जसले हामीलाई नै गिज्याइरहेको छ । यसबाट अदालतमाथि पनि प्रश्न उठेको छ ।’

विगतमा पनि ६ जनाको हत्या गर्नेलाई, बलात्कार गर्नेलाई माफी दिइएको स्मरण गर्दै महामन्त्री थापाले सरकारमा जो भएपनि सबैले कानुनको दुरुपयोग गर्दै–गर्दै अघि बढेको र कोही पनि अछुतो नरहेको बताए ।