काठमाडौँ । भारतले जारी आइसीसी क्रिकेट विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको हो ।
अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य पछाएको भारतले ३५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतको जितमा कप्तान रोहित शर्माले १३१ रनको शतकीय पारी खेलेका थिए भने इशान किशनले ४७, विराट कोहलीले अविजित ५५ र श्रेयस अय्यरले अविजित २५ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउदै २७२ रन बनाएको थियो ।
यो जितपछि भारतको २ खेलमा ४ अंक भएको छ । त्यस्तै अफगानिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ ।
अब भारतले अक्टोबर १४ मा पाकिस्तानको सामना गर्दै छ भने अफगानिस्तानले अक्टोबर १५ मा ईङल्याण्डसँग खेल्ने तालिका रहेको छ ।