वीरेन्द्रनगर । कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको अपेक्षित विकासका लागि राजनीतिक र प्रशासनिक शक्ति सन्तुलन हुनुपर्ने बताएका छन् ।
नजिकिँदै गरेको नेपाली हिन्दूहरुको महान् पर्व विजयादशमी तथा तिहारका साथै छठपर्वका अवसरमा वीरेन्द्रनगरमा आज आयोजित प्रेस सेन्टरसँग आबद्ध पत्रकारसँगको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजनीतिक र प्रशासनिक दुवै शक्ति सन्तुलनबाट मात्र देशले अपेक्षा गरेको विकास हुनसक्ने धारणा व्यक्त गरे ।
पूर्वमुख्यमन्त्री शाहीले भने, “आवधिक र स्थायी दुवै सरकारको आपसी सम्बन्ध, समझदारी र जिम्मेवारीप्रतिको बोधगम्यताले मात्र निर्मित नीति, नियम, बजेट, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनसक्छ । त्यसो हुँदा प्रतिफल देखिने गरी काम भएको जनताले अनभूति गर्न सक्छन् ।”
त्यसका साथै उनले जनताको अवस्था बदल्न परम्परागत सोच र संरचना दुवैको पुनःसंरचना आवश्यक रहेकोसमेत उल्लेख गरे । उक्त भेटघाट कार्यक्रममा कर्णालीका दूरदराजमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मीको आर्थिक तथा सामाजिक सुदृढीकरणका लागि सरकारले सञ्चार माध्यममैत्री कार्यक्रम ल्याउनुर्नेमा समेत उनले जोड दिए ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ ले जनतामा उभार ल्याएको बताउँदै पूर्वमुख्यमन्त्री शाहीले माओवादी सक्याउन अन्तर्राष्ट्रिय शक्ति केन्द्र पनि लागेको जिकिर गरे ।