लोकतन्त्रमा धब्बा लाग्ने कुनैपनि निर्णय बदरभागी हुनुपर्छ : महामन्त्री शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कैद मिनाह दिने सरकारको निर्णय बदर हुनुपर्ने बताएका छन् ।

अहिले रिगल भनिने युगराज ढकालको कैद मिनाहको विषय विवादमा रहेका बेला महामन्त्री शर्माले यो विषय अदालतमा प्रवेश गर्नु स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।


उनले आम माफी प्रकरणमा अदालतको प्रवेश स्वागतयोग्य भएको भन्दै विसंगति विरुद्ध नवीन बहस आवश्यक रहेको बताएका छन् ।

साथै उनले लोकतन्त्रमा धब्बा लाग्ने कुनैपनि निर्णय बदरभागी हुनुपर्छ भन्ने बिषय लोकको मतमात्रै होइन, मानवीय भावको अपेक्षा र सुशासनको माग पनि भएको सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

बिहीबार मात्र सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको हो । सर्वोच्चले बाँकेका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले दिएको रिटमा अर्को सुनुवाइको अग्राधिकारसहित असोज २५ गतेलाई पूर्ण इजाल्समा पेशी तोक्न पनि आदेश गरेको छ ।

थुनामा रहेका रिगल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए ।

रिगल छुटेपछि मृतक चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट हालेकी थिइन् । भारतीले न्याय माग्दै बुधबारदेखि माइतीघर मण्डलाबाट अनशन समेत सुरू गरेकी छन् ।

कांग्रेसको भातृ संगठन तरुण दलका नेता समेत रहेका रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतनको हत्या गरेका थिए । हत्या अभियोगमा जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा रिगललाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।