रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै भारतीले थालिन अनशन



काठमाडौं । दिनदहाडै खुँडा प्रहार गरी चेतन मानन्धरकाे हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका योगराज (रिगल) ढकाललाई सरकारले दिएको कैद मिनाहाविरुद्ध भारती मानन्धरले अनसन सुरु गरेकी छन् ।

आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगललाई सरकारले संविधान दिवसको दिन कैद मिनाहा गरी जेलमुक्त गराएपछि उनलाई जेलमा नै राख्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा आज (बुधबार) बिहानदेखि अनशन सुरु गरेकी हुन् । भारतीले आफ्ने श्रीमानको हत्यारा स्वतन्त्र रुपमा बाहिर घुमिरहदा अन्याएमा परेको भन्दै न्याय नपाएसम्म घर नफर्किने बताइन् ।


रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ ।