काठमाडौँ । रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरूद्ध परेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्न नमिल्ने बताउदै कार्तिक १४ गतेलाई अर्को पेशी तोकेको छ ।
बिहीबार अन्तिम सुनुवाइ थालेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीसहितको पूर्ण इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भन्दै अर्को पेशी कार्तिक १४ गते तोकेको हो । पूर्ण इजलासले आफूहरूले यस्तै प्रकृतिको मुद्दामा यसअगाडि फैसला गरिसकेको देखिएकाले हेर्न नमिल्ने बताएको छ ।
चेतन मानन्धरकी श्रीमती भारती मानन्धरको पक्षबाट वकिलहरू बालकृष्ण न्यौपाने र शंकर कटुवालले बहस गरेका थिए । सरकारको तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेलले बहस गरेका थिए ।
भारतीले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिटमा गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माले आजको लागि अग्राधिकार दिएर पेशी तोकेका थिए ।
सरकारले माफी दिएपछि रिगल संविधान दिवसको दिन तुलसीपुर कारागारबाट छुटेका थिए । ०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतनको हत्या गरेका थिए। हत्या अभियोगमा जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा रिगललाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।