राष्ट्रपतिद्वारा एनआरएनएको ११ औँ अधिवेशन उद्घाटन



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ अधिवेशन काठमाडौंमा सुरु भएको छ। ४ दिनसम्म चल्ने अधिवेशनको आज (मंगलबार)राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरेका छन्। उनले स्वस्ती वाचनसहित सम्मेलनको उद्घाटन गरेका हुन् ।

२००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भैसकेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हाँसिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताए।


उनले एनआरएनएहरु विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने बताए।

अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन्। ८७ देशमध्ये ५९ देशमा अधिवेसन भएको थियो। ५९ मध्ये ११ देशमा अनलाइन भेरिफिकेसनको आधारमा निर्वाचन भएको थियो।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वकालागि ४ जनाको उम्मेदवारी परेको छ। हालका अध्यक्षसहित उपाध्यक्ष पनि एनआरएनएको नेतृत्वको लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघको निर्वाचन समितिका अनुसार अध्यक्षमा डा।बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गरेका छन्।