ताप्लेजुङ । तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् । निर्यातका लागि आवश्यक पर्ने पूर्वाधार नहुँदा पर्याप्त वनपैदावार सम्भावना भएका हिमाली क्षेत्रका सामुदायिक वनहरूले आफ्नो आम्दानीको स्रोत गुमाउनु परेको हो ।
सामुदायिक वनसम्म पुग्ने यातायात पहुँच नहुँदा वनपैदावार त्यतीकै वनमै सढेर जाने गरेको छ । यातायात साधन पुग्ने बाटो नहुनु, ढुवानी गर्न समस्या हुनुजस्ता कारण हिमाली क्षेत्रका समुदायिक वनहरूले आम्दामीको स्रोत गुमाउनु परेको हो ।
ताप्लेजुङका आधाभन्दा धेरै भूगोल ओगटेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सामुदायिक वन क्षेत्र धेरै रहेको छ । दुई हजार ३५ वर्ग किमिमा फैलिएको यस क्षेत्रमा अधिकांश सामुदायिक वन क्षेत्रको हिस्सा रहेको छ । तत्कालीन चार गाविसहरू लेलेप, तापेथोक, याम्फुदिन र ओलाङचुङगोलालाई विसं २०५४ मा पृथ्वीको उपहारका रूपमा घोषणा गरिएदेखि नै यस क्षेत्रको जैविक विविधताको संरक्षण र संवद्र्धन कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाले गरेको थियो भने हाल यसको दायित्व स्थानीय समुदायबाट गठित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले गरिरहेको छ ।
अहिले कञ्चनजङ्घा संरक्षण २५ वटा संरक्षण सामुदायिक वनहरू रहेका छन् । ३ दशमलव ५ हेक्टरदेखि २६ हजार पाँच सय आठ हेक्टर क्षेत्रफलसम्मका सामुदायिक वनहरूको कूल क्षेत्रफल ६९ हजार चार सय २६ हेक्टर रहेको छ । यसअघि २६ वटा सामुदायिक वनहरू रहेकोमा फक्ताङलुङ गाउँपालिका–६ को लुङथुङमा रहेको नागथान संरक्षण सामुदायिक वनको जग्गा जिल्ला प्रशासन कार्यालयको नाममा रहेको प्रमाणित भएपछि खारेज गरिएको थियो । हाल फक्ताङलुङ–५ मा छवटा सामुदायिक वनहरू रहेका छन् ।