विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार नै विश्वासको मत लिने तयारी गरेका छन् । शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् । त्यससँगै विश्वासको मत लिने तयारी गर्ने भएका हुन् ।
मुख्यमन्त्री कार्कीले आइतबार कम्तीमा ३ र बढीमा ४ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री कार्कीको तर्फबाट एक जना र नेकपा एमालेबाट बढीमा दुई जना मन्त्री बनाउन छलफल भइरहेको छ । तर, सम्भावित मन्त्रीको नाम भने टुंगो नलागिसकेको उनको भनाइ छ ।
आइतबार सार्वजनिक बिदा परेकाले सोमबार कार्यालय खुल्नेबित्तिकै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयले सूचना दिने भएको छ । एमाले सचेतक भण्डारीका अनुसार ढिलै भए बिहीबारभित्रमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनेछन् ।
मुख्यमन्त्री कार्की अहिले काठमाडौंमा छन् । उनी मुख्यमन्त्री नियुक्त भएलगत्तै आगामी मार्गचित्र र शक्ति साझेदारीबारे शीर्ष तहमा छलफल गर्न शनिबार नै काठमाडौँ गएका हुन् र उनी आइतबार बिहानै विराटनगर फर्किने तालिका छ ।