भेप सुन तस्करी प्रकरण : महरालाई सीआईबीले गरायो बयान कागज



काठमाडौँ । विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई बयान कागज गराएको छ ।

प्रहरी सिआईबीको कार्यालयमा बोलाएर मंगलबार महरालाई सुन तस्करी प्रकरणमा बयान कागज गराएको हो । ब्यूरोले तस्कर समूहसँग सम्बन्ध देखिएको भन्दै १३ भदौमा महराका छोरा राहुललाई पक्राउ गरेको थियो ।


२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका नाइके चिनियाँ नागरिक दाओजिन वाङसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो ।

चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएपछि महरासँग सोधपुछ गरिएको सिआईबीले जनाएको छ। महराले सिआईबीसमक्ष आफ्नो दावाजिनसँग चिनजान भएको र रोकिएका सामान मिलेसम्म छुटाउन अनुरोध गरेको स्वीकार गरेका छन्। उनले विधिवत आएको सामान रोकियो भनेपछि त्यसलाई छुटाउन मात्रै आफूले पहल गरेको बताएका छन्।